घोडासैनी थरको नामकरण
घोडासैनी थरका मान्छेहरू बाउन, खस बाउन र छेत्री जातमा पाइन्छन् । यसको मुख्य थलो सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको अछाम जिल्ला हो । यसको नामकरण ठाउँका आधारमा भएको हो । अछाम जिल्लाको सदरमुकाम मङ्गलसैनदेखि दक्षिण पूर्वमा पर्ने एउटा गाविस नै घोडासैनका नामले चिनिन्छ । उक्त गाविसमा बसोवास गर्ने बाहुनहरूको थरका रूपमा घोडासैनी शब्द प्रयोग गरिएको पाइन्छ । घोडासैनी थरका विषयमा कुनै एउटा अर्थले मात्र पुष्टि गर्नुभन्दा पनि त्यससँग सम्बन्धित विभिन्न पक्षलाई केलाउन आवश्यक देखिएकोले सोही अनुसारको निम्न लिखित विवरण प्रस्तुत गर्न सकिन्छ । कथात्मक किम्बदन्ती घोडासैनी थरको उत्पत्ति सम्बन्धी एउटा पसिद्ध कथात्मक किम्बदन्ती भन्ने गरिएको पाइन्छ । उक्त किम्बदन्ती यस प्रकार छ; उहिल्यै बाइसे चौबिसे राजाका पालाको कुरा हो । भारतका मुगल शासकको उत्पीडनबाट नेपाल प्रवेश गरेका मानिसहरूमा एक किसिमको भय र त्रास थियो । समाजमा नयाँ नयाँ ठाउँका मान्छेहरू आएर बसेपछि सामाजिक विकृति हुने सम्भावना थियो । त्यसैलाई रोक्न त्यतिखेरका अछामी (क्वाल्लेखे) राजाले आफ्नो राज्यमा एउटा नियम बनाए । “यदि कुनै पर पुरुषले छेत्रीका श्रीमतीलाई छोयो भने पाप लाग्ने छ भने बाहुनका श्रीमतीलाई देखेपछि पाप लाग्ने छ” भन्ने नियम बनाए । राजाले बनाएको यस्तो नियम समाजले पालन गर्न थाल्यो । बाउन परिवारका महिलाहरू घरबाट बाहिर ननिस्कने अवस्था आयो । यस नियमको पूर्ण रूपले पालना घोडासैनमा बस्ने बाहुनका परिवारका महिलाहरूले गरेको कुरा राजा कहाँ पुगेछ । महिलाहरू घरभित्रको काम गर्ने र पुरुषहरू घर बाहिरको काम गर्ने गर्दथे । यस्तै एक पटक पुरुषहरू घर बाहिर टाढा खेतमा काम गर्न गएको मौका छोपी राजाले ती महिलाहरू घर बाहिर आउँछन् कि आउँदैनन् परीक्षा लिनु पर्यो भनी घोडा सहित सिपाही पठाएछ । सिपाहीहरू आई खलामा सुकाएको बिस्कुनमा घोडा छोडेर आफू केही पर लुकेर बसे । घोडाले बिस्कुन खाएको थाहा पाएर पनि बैकिनी मान्छेहरू घरबाट बाहिर निस्किएनन् । घोडा अघाएर आफैं बिस्कुनबाट हटे । यिनीहरू बाहिर आउँदैनन् भन्ने कुरा बुझेर सिपाहीहरूले घोडा लगी राजालाई अवगत गराए । त्यत्रो बिस्कुन खाँदा पनि सहेरै बस्दा ‘घोडालाई सहनेको परिवार’ भन्दै गए । घोडालाई सहनेको समास र परिस्कृत रूप घोडासैन भयो भने त्यसैको विशेषण बोधक शब्द घोडासैनी भएको हो (घोडासैनी, २०५६,२) ।
पेसागत किम्बदन्ती
अछाम जिल्लाको घोडासैन गाविस ९ माजीका महानन्द उपाध्यायका अनुसार घोडासैनीहरूले स्वयं घोडा पाल्दथे रे ! तिनै घोडा फुकाएर अशोक मल्लका सिपाहीहरूले बिस्कुन खुवाएका थिए । त्यही सही दिए वापत् घोडासैनी भनिएको हो भन्ने पेसागत किम्बदन्ती पनि पाइन्छ ।
शाब्दिक अर्थ
‘सैन’ शब्दको अर्थ भिरालो, करालो हुन्छ । (त्रिपाठी, २०५५) यहाँ ‘घोडा’ शब्दमा ‘सैन’ जोडिएर आएको छ । घोडासैनमा गएर ठाउँको प्रकृतिलाई हेर्दा घोडासैनको थलो र अर्थका बिच निकटता देखिन्छ अनि यस्तो अर्थ बन्दछ– घोडा भएका नजिकको भिरालो वा कराले ठाउँ, त्यहाँ बसेको घोडासैनी ।
ऐतिहासिक सन्दर्भ
“अशोक मल्लका पालामा अछामका सम्पूर्ण जनजातिको नयाँ नाम राखियो । अधिकांश त जुन गाउँमा बस्दथे उसै गाउँका नामबाट राखिए । केही कामसित सम्बन्धित, केही पेसासित सम्बन्धित थरहरू ......घोडासैनी.....इत्यादि थरहरूका उद्गम स्रोत गाउँहरू ठहरिए । (यात्री, २०४०, २३५) ” अशोक मल्ल अछामी राजा देवचन्द्र समालका सत्रौं पुस्ताका राजा देखिन्छन् भने यिनका “पालाको राजधानी कैलाश खोलाको पश्चिमी किनारा वामन गाउँका ठेकमा सारेर कोटको नाम सुजौली कोट राखे । (यात्री, २०४०, ३३४) ” देवचन्द्र समालका उनन्तिसौं पुस्ताका राजा “मेदिनी ब्रह्मको समयका केही ताम्रपत्रहरू प्राप्त भएका छन् । ताम्रपत्र अनुसार संवत् १३५० देखि १४०० का बिच उनको राज्यकाल थियो भन्ने अनुमान हुन्छ ।” (यात्री, २०४०, २३६) उपर्युक्त तथ्यको अध्ययनबाट के निष्कर्ष निस्किन्छ भने मेदिनी ब्रह्मको समय संवत् १४०० थियो भने यिनीभन्दा एघार पुस्ताअधिका अशोक मल्लको समय मम्तिमा पनि २०० वर्ष अधिको मान्नु पर्ने हुन्छ । “सेरा बुढीथर्पुमा देवचन्द्र समाल प्रथम राजा भए भने एघारौं पुस्ताका राजा होम चन्द्रले ‘समाल’ छोडी ‘राय’ लेखे र क्वाल्लेखमा राज्य सारे ।” (यात्री, २०४०, ३३४) यसरी हेर्दा क्वाल्लेख घोडासैनको नजिक र घोडासैनीसँग किम्बदन्तीमा पनि उनी नै जोडिएकाले संवत् ११०० देखि १३०० का बिचको समयमा घोडासैनी थरको नामकरण भइ सकेको बुझिन्छ । यसलाई थप पुष्टि गर्न तत्कालीन समयका अन्य सामग्रीलाई पनि हेर्न सकिन्छ । “चौधौं पन्ध्रौं शताब्दीतिर कर्णाली फाँटका राजाहरू पुण्य मल्ल, पृथ्वी मल्ल, मेदिनी ब्रह्म राउत, कल्याण नेराबली, राजा उदय वर्मा, सुर्ती शाही आदिका ताम्रपत्र, कनक पत्र, र ताम्र ग्रन्थहरूमा केही थरहरू पाइन्छन्” (कोई, २०३५, २०–२१) । घोडासैन र क्वाल्लेख नजिक हुँदा आफ्नो राज्य बढाउन घोडासैनमा सैनिक क्याम्प राखेको र पछिसम्म पनि “यशो ब्रह्मको शिलालेख त्यहाँ पाइनु” (यात्री, २०४०, २३६) ले घोडासैन ठाउँको नाम रहनु सम्भव नै देखिन्छ । यसै आधारमा ‘कोई’ले उल्लेख गरेका छन्– “घोडामा चढेका सैनिक बसेको ठाउँ–घोडासैन, घोडासैनमा बस्ने घोडासैनी” (कोई, २०३५, २२) घोडासैनी थरको नामकरणसँग सम्बन्धित माथि उल्लेख गरिएका विवरणहरूले जे सुकै तथ्य अघि सारे पनि अछाम जिल्लामा घोडासैन गाविस छ र उक्त गाविसमा सुरुमा बस्ने कबिलाहरूको थर, उपाधि, पहिचान वा उपनाम घोडासैनी हो भन्ने कुरामा दुई मत देखिँदैन ।