जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको आह्वानपत्र

जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति (The Root and Locus Movement)

प्रिय बन्धुहरू ! नेपाल विश्वकै सर्वप्राचीन देशहरूमध्ये एक हो । यो महाभारतकाल भन्दा पनि पुरानो, रामायणकाल भन्दा पनि पुरानो देश राज्य–राष्ट्र (स्टेट–नेसन) हो । यसका सीमामा परिवर्तन भएका छन्, शासकहरू परिवर्तन भएका छन्, तर राज्यराष्ट्रका रूपमा यो अविच्छिन्न अस्तित्वमा छ वैदिककालदेखि नै । हजारौँ–हजारौँ वर्षको इतिहास छ नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनताको । हिमाल, पहाड, तराइ नेपालका अवयवका रूपमा रहेका छन् जहिले पनि ।

इतिहासका प्रायः सबै कालखण्डमा यो देश समृद्ध, शक्तिशाली, अग्रणी रहिआएको हो । तर अहिले देशको स्थिति के छ भन्ने त हाम्रो सामु प्रत्यक्ष छँदैछ । सङ्कटै सङ्कटको सङ्क्रमणकालबाट गुज्रिँदै गर्दा वर्तमान नेपालको दुरावस्थाले हामी सबैलाई पीडित बनाइरहेको छ । हिंसा, अराजकता, हाहाकार !! घृणा, द्वेष, वैमनस्य !! असुरक्षा, अशान्ति, त्राहीत्राही, रोदन, चित्कार !! भ्रस्टाचार, तस्करी, कालाबजारी, महङ्गी !! बेरोजगारी, पलायन, निराशा !! गरिबी, रोग, भोक, शोक !! विकृति, विसङ्गति, पापाचार !! अन्याय, अत्याचार, शोषण, दमन, असमानता !! खै कहाँ छ चित्त बुझाउने ठाउँ ? को हो दोषी ? कसले हो हामीलाई यो महासङ्कटबाट पार लगाउने ?

प्रत्येक इमान्दार नेपालीले गम्भीरतापूर्वक सोच–विचार गरी तत्कालै निर्णय लिनु पर्ने बेला आएको छ — के यो देशको स्थितिलाई यसरी नै बिग्रिइरहन दिने अथवा देशलाई सुखमय बनाउने ? उज्यालो रोज्ने वा अँध्यारो रोज्ने ? निर्णय लिइहाल्नु परेको छ — “अब कुनबाटो लाग्ने ?” नेपालका वर्तमान समस्याहरूको समाधान गरी नेपाललाई वैश्विक पुनः संरचनाको अग्रणी एवं केन्द्र बनाउन सकिन्छ, जसका लागि नीति र नेतृत्व दुवै सर्वोत्तम हुनु अत्यावश्यक छ । जरो (Root) र किलो (Locus) नेपालमै भएको मौलिक रैथाने शक्ति नै नेपालको लागि सर्वोत्तम विकल्प हुने निष्कर्षमा हामी पुगेका छौँ । नेपालमा विद्यमान विभिन्न शक्तिहरू एवं तिनीहरूका दार्शनिक मान्यता, सिद्धान्त, वाद, रणनीति, कार्यनीति आदिको परीक्षण जरो र किलोको कसीमा गरौँ । तब छर्लङ्ग हुनेछ कि अब नेपालको नीति र नेतृत्वका लागि उनीहरू पूरै अनुपयुक्त छन् ।

जरो (Root) :— उद्गम, मौलिकता, स्थानीयता, सान्दर्भिकता, अपनत्व, स्वामित्वको सवाल । जन्म, स्रोत वा मूल कहाँ हो ? सैद्धान्तिक/व्यावहारिक रूपमा “जरो” नेपालमै हो वा अन्यत्रै ?

किलो (Locus):— स्वाधीनता, स्वतन्त्रता, प्रभुत्व, सार्वभौमसत्ताको सवाल । केन्द्रबिन्दु कहाँ हो ? स्वाधीन हो कि पराधीन ? स्वतन्त्र हो कि पराइबाट नियन्त्रित, निर्देशित, प्रायोजित हो ? प्रभुत्व कसको हो ? नेपाली जनताकै शक्तिबाट सञ्चालित हो वा पराइ शक्तिको दलाल, अह्रौटेभरौटे, प्यादा हो ? सैद्धान्तिक/व्यावहारिक रूपमा “किलो” नेपालमै हो वा अन्यत्रै ?

जाँचौँ, कसको जरो र किलो कहाँ हो ? नेकपा (एमाले) र एनेकपा (माओवादी) लगायतका सबै कम्युनिस्ट घटकहरू, नेपाली कांग्रेस लगायतका सबै कांग्रेसी घटकहरू, राप्रपा र राप्रपा नेपाल लगायतका सबै पूर्वपञ्च घटकहरू, कथित मधेशवादीहरू, कथित जनजातिवादीहरू, बचेखुचेका कथित राजावादीहरू, सबै नै पटक पटक सत्तामा पुगे तथा अहिले पनि सत्तासीन वा सत्ताकांक्षी छन्, तिनीहरूको परीक्षण, मूल्याङ्कन, छानबिन “जरो” र “किलो” को कसीमा गर्दा के देखिन्छ यथार्थ ? कसीमा जाँच्दा निम्नानुसारको अवस्था देखिन्छ :—

जरो :— कांग्रेस र कम्युनिस्टको त जन्म, स्रोत, मूल नै नेपाल बाहिर हो, यिनीहरूको सिद्धान्त पनि विदेशी विधर्मी स्रोतको हो र तसर्थ सैद्धान्तिक र व्यावहारिक दुवै रूपमै तिनको जरो नेपाल बाहिर छ । राप्रपा र राप्रपा नेपाल लगायतका सबै पूर्वपञ्च घटकहरू, कथित मधेशवादीहरू, कथित जनजातिवादीहरूको पनि उही यथार्थ हो । बचेखुचेका कथित राजावादीहरूको सैद्धान्तिक आधार वा राजनीतिक दर्शन पनि हाम्रा मौलिक दर्शन नभई मेकियावेलीको दर्शन भएकाले सिद्धान्तत तिनको जरो पनि नेपाल बाहिरै छ ।

किलो :— नेकपा (एमाले) र एनेकपा (माओवादी) लगायतका सबै कम्युनिस्ट घटकहरू, नेपाली कांग्रेस लगायतका सबै कांग्रेसी घटकहरू, राप्रपा र राप्रपा नेपाल लगायतका सबै पूर्वपञ्च घटकहरू, कथित मधेशवादीहरू, कथित जनजातिवादीहरू, यी सबै मौका मौकामा पराइ शक्तिको प्यादा बनिसकेको कटु यथार्थले यिनको किलो कहाँ छ भन्ने देखाइरहेकै छैन र ? नेपाली जनतालाई शक्तिको केन्द्र नै मान्दैनन् यिनले । कोही दक्षिण, कोही उत्तर, कोही पश्चिम, अनि कोही पूर्व्तिर किलो गाडिएका हुनाले यिनीहरू कसरी स्वतन्त्र, स्वाधीन हुन्छन् ? पटक पटक सत्तारुढ भएका हैनन् र यिनै ? पटक पटक सत्ता पाउँदा बेइमानी गर्ने यिनै हैनन् र ? कसको परीक्षण हुन बाँकी छ अब ? अब पनि तिनीहरूको हातमै यो देशको जिम्मेवारी रहिरहनु दुर्भाग्यको पनि पराकाष्ठा हुने छर्लङ्ग भइसकेको छ । राजनीतिक प्रकृतिका पार्टी, सङ्घ, सङ्गठनहरूलाई मात्र जरो र किलोको कसीमा परीक्षण गरेर पुग्दैन; यहाँ त धर्म, संस्कृति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य आदि आदि क्षेत्रहरूमा पनि पराइ शक्तिहरूको बिगबिगी छ । वैदिक सनातन धर्म (जसलाई हिन्दू संज्ञा पनि दिने गरिएको छ) का साथै बौद्ध, किरात, बोनजस्ता धर्म यहाँका मौलिक रैथाने हुन् । नेपालको पहिचान यहाँका मौलिक रैथाने धर्मबाट हुनु र राज्यले विशेष संरक्षण गर्नु शत–प्रतिशत ठीक हो भन्नेमा हामी दृढ छौँ । संस्कृति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा पनि जरो र किलोको कसी लगाएर व्यवहार गर्नु वाञ्छनीय छ । अन्यत्रै जरो र किलो भएका पराइ शक्तिहरू जहाँकहिँ पनि छन्, तिनलाई पहिचान गरेर तिनको दुस्प्रभाव निर्मूल गर्नु अत्यावश्यक छ भने हितकारी चिजहरू हामीलाई उपयुक्त हुने गरी अवलम्बन गर्ने वैज्ञानिक दृष्टिकोण हामीमा हुनु पर्छ । अहिले नेपाललाई चाहिएकोचाहिँ “जरो” र “किलो” दुवै नेपालमै भएको मौलिक रैथाने शक्ति हो । जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिका आधारशिला विज्ञान, प्रविधि, धर्म र सहृदयता हुन् ।

विज्ञानको बुद्धि प्रविधिको प्रगति । धर्मको विवेक सहृदयताको सम्बन्ध ।। विकास न्याय स्वाधीनता समृद्धिमा नेपालको । सहृदयी तराइ मधेश पहाड र हिमालको ।।

सहृदयताले नेपाली सांस्कृतिक चेतना को साझा आत्मचेतको आधारमा प्रतिष्ठित एक नेपालीजाति अवधारणालाई प्रवर्धन गर्नुमै हामी सबैको हित छ । नेपाल कुनै एक जात वा जाति वा जनजाति को, कुनै एक वर्गविशेषको मात्र देश नभएर विविधताहरूको समष्टि रूप हो र ती सबैको संयोजन भइसकेर एउटा राज्य–राष्ट्र (स्टेट–नेसन) का रूपमा विकसित भइसकेको हुँदा सम्पूर्ण जातीयसमुदाय, सबै भाषिकसमुदाय, सारा धार्मिकसमुदायको सहभागिताबाट निर्मित सिंगो रूप एक नेपालीजातीयता प्रति इमान्दार रहनु नै राष्ट्रियता सुदृढ पार्ने कार्य हो ।

राजनीति (शासनतन्त्रसहित), अर्थतन्त्र, शिक्षातन्त्र, स्वास्थ्यतन्त्र, कृषितन्त्र, संस्कृतितन्त्र, समाजतन्त्र आदि आदि सबैको जरो र किलो नेपालमै सुनिश्चित हुने रैथाने प्रणालीको सुनिश्चितताका लागि हो यो अभियान । विज्ञान (बुद्धि), अत्याधुनिक प्रविधि (प्रगति), धर्म (विवेक) एवं सहृदयता (सम्बन्ध) लाई अवलम्बन गर्ने हो हामीलेस आफ्नो मूलसँग अविच्छिन्न रहँदै संसारकै अग्रणी एवं केन्द्र बन्ने हो हामी । हाम्रो लक्ष्य हो— ‘वैज्ञानिक सत्ययुग’ । हाम्रो तात्कालिक न्युनतम लक्ष्य देशका लागि अनुपयुक्त राजनीतिक एवं आर्थिक दर्शन, सिद्धान्त, वाद, प्रणाली, रणनीति, कार्यनीति आदिको निराकरण तथा अयोग्य नेतृत्व प्रदान गर्दै आइरहेका राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आदि सङ्गठनहरूको विकल्पमा यो देशका लागि उपयुक्त राजनीतिक एवं आर्थिक दर्शन, सिद्धान्त, वाद, प्रणाली, रणनीति, कार्यनीति आदिका साथै योग्य नेतृत्व सुनिश्चित गरी नेपालको सर्वाङ्गीण उन्नति–प्रगति गर्नु एवं नेपाललाई समृद्धि, न्याय, सुख, शान्ति, सहृदयताले परिपूर्ण बनाउनु हो । अब युगान्तकारी एवं युगप्रवर्त्तनकारी सकारात्मक क्रान्तिको पक्षमा डट्ने बेला आएको छ । यही महान् दायित्व अनुरूपको भुमिका निर्वाह गर्न जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति खडा गर्नु परेको हो ।

नयाँ र पुरानोको निरर्थक विवादमा नपरौँ; प्राचीनतम्देखि नवीनतमसम्म राम्राचाहिँ स्वीकार गरौँ; नराम्राचाहिँ अस्वीकार गरौँ । आधुनिकतम विज्ञानदेखि प्राचीनतम ज्ञानसम्मको सुसंयोजन : वैज्ञानिकतायुक्त धर्म धार्मिकतायुक्त विज्ञान । भौतिक उन्नति पनि गर्नु पर्छ, मानसिक उन्नति पनि गर्नु पर्छ, आध्यात्मिक उन्नति पनि गर्नु पर्छ । आधिभौतिक, आधिदैविक, आध्यात्मिक आयामहरूको समष्टि नै मानव जीवन हो । न दक्षिण न उत्तर न पश्चिम न पूर्व, अरुको भर पर्नेलाई परिरहन्छ कष्ट । अरुको निगाहमा बाँच्ने होइन, स्वावलम्बी स्वाधीन समृद्ध बनाउने हो देशलाई ।। आर्थिक समृद्धि, दिगो विकास, न्याय, शिक्षा स्वास्थ्य रोजगारीको राज्यद्वारा नै पूर्ण प्रत्याभूति । राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता, “वसुधैव कुटुम्बकम्” सार्थक पार्न सक्ने गरी अन्तर्राष्ट्रिय नेतृत्व गर्ने तयारी ।। हाम्रो प्राथमिकता सिर्जना, निर्माण, विकास, प्रगति, उन्नति, समृद्धि, न्याय, एकता, शान्ति, स्वाधीनता, सहृदयता । हामी आह्वान गर्छौँ :— जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको अभियानमा तपाईँ पनि सहभागी हुनोस्, हामी सहकार्य गरौँ । समाज, राष्ट्र, विश्वप्रतिको कर्तव्य निर्वाह गर्ने यस महायज्ञमा तपाईंको उपस्थितिले विशेष अर्थ राख्दछ । यस अभियानमा तपाईंलाई स्वागत छ । अघि बढौं यो युग हाम्रो हो । जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिRaotandlocus (talk) 04:15, 22 May 2018 (UTC)

हाम्रो लक्ष्य — वैज्ञानिक सत्ययुग । हाम्रो आधारशिला चतुष्टय — विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक, सहृदयताको सम्बन्ध । हाम्रो सिद्धान्त — राज्यराष्ट्र । हाम्रो कार्य पद्धति — अनुसन्धान, उद्यमशीलता, विकास । हाम्रो संगठन पद्धति — विशिष्ट नेतृत्व, सामूहिक कर्तृत्व, संस्थागत स्वामित्व । हाम्रो सांगठनकि संरचना — सभा, समिति, परिषद् । हाम्रो उद्देश्य — नेपाललाई वर्तमान सङ्कटको सङ्क्रमणबाट मुक्त गराउने, विश्वका विकसित देशहरुको समूहमा पुर्याउने र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने ।


जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति https://drive.google.com/file/d/0B6i1vkHILzKZMmRYc1BPcDZ0aG8/view?usp=drivesdk